त्रिकोणात्मक ओडिआई सिरिजमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा शाहीन शाह अफ्रिदी सहित ३ पाकिस्तानी खेलाडीलाई आइसिसीले कारबाही गरेको छ ।
अफ्रिदी सहित साउद शकील र कामरान गुलामलाई आइसिसीको आचार संहिताको लेभल १ उल्लङ्घन गरेको आरोपमा जरिवाना र डिमेरिट प्वाइन्ट दिइएको छ ।
अफ्रिदीलाई आचार संहिताको धारा २.१२ को उल्लङ्घन गरेको आरोपमा म्याच फीको २५ प्रतिशत जरिवाना गरिएको छ ।
खेलको २८ औं ओभरमा दक्षिण अफ्रिकी ब्याटर म्याथ्यु ब्रेज़्केलाई अफ्रिदीले रन लिने क्रममा रोक्ने प्रयासमा देखिएका थिए । आइसिसीले भनेअनुसार यी दुई खेलाडी एकअर्कासँग ठोक्किएपछि चर्काचर्की भएको थियो ।
सब्स्टिच्युट फिल्डर शकील र गुलामलाई २९ औं ओभरमा रनआउट भएका ब्याटर तेम्बा बभुमासँग धेरै नजिक रहेर सेलिब्रेसन गरेको भन्दै म्याच फीको १० प्रतिशत जरिवाना गरिएको छ ।
यो संहिताको धारा २.५ को उल्लङ्घन थियो । यी तीनमध्ये कसैको पनि पूर्व डिमेरिट पोइन्ट थिएन ।
दक्षिण अफ्रिकाले दिएको ३ सय ५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले एकदिवसीय क्रिकेटमा ३ सय ५० रनभन्दा बढीको लक्ष्य पछ्याएको थियो । यो जितसँगै पाकिस्तान त्रिकोणात्मक सिरिजको फाइनलमा पुगेको छ ।